सर्लाही, २४ फागुन । सर्लाहीको चन्द्रनगर गाउँपालिका कार्यालयको कामकाज तीन दिनदेखि ठप्प भएको छ । गाउँपालिकाको केन्द्र सार्न खोज्दा उत्पन्न विवादले गएको शुक्रवारदेखि गाउँपालिका कार्यालय खुल्न नसकेको हो ।
हाल वडा नं. ६ र ७ को संगमस्थल नाढीताल परिसरमा रहेको गाउँपालिकाको केन्द्र, त्यहाँबाट वडा नं. २ बबरगञ्जमा सार्न शनिवार राती अबेरसम्म विशेष गाउँ सभाको बैठक बसेको थियो । तर गाउँ सभामा केन्द्र सार्न आवश्यक पर्ने दुईतीहाई बहुमत पुग्न सकेन ।
सर्वसम्मत सहमति बिना नै जबरजस्ती कार्यालय सार्न खोजेपछि स्थानीय आक्रोसित बनेका हुन् । जवरजस्ती गाउँपालिका सार्न खोजिएको भन्दै गत शुक्रवारदेखि गाउँपालिकाको गेटमा धर्ना जारी रहेको छ ।
गाउँपालिकाको केन्द्र नाढीतालमै रहनुपर्ने मागसहित वडा नं. ४, ६ र ७ का वडाध्यक्ष, अन्य जनप्रतिनिधि, नेपाली काँगे्रसका नेता कार्यकर्ता र स्थानीय वासिन्दा धर्नामा बसेका हुन् । नेपाली काँगे्रसको तर्फबाट गाउँपालिका अध्यक्षका उम्मेद्वार समेत रहेका श्याम सिंहले विशेष गाउँ सभामा दुई तिहाई मत पु¥याउन वडा नं. ४ का वडाध्यक्ष जगदिस साहलाई अपहरण गरेर जवरजस्ती गाउँ सभामा उपस्थित गराउन खोजिएको आरोप लगाए । यस्तै, केही गाउँ सभा सदस्यहरुलाई किन्नका लागि लाखौँ रुपैयाँको प्रलोभन देखाइएको समेत आन्दोलित पक्षले दावी गरेका छन् ।
तर गाउँपालिकाका अध्यक्ष महेन्द्र महतोले भने आफूहरुले कसैलाई अपहरण गर्ने प्रयास नगरेको र आर्थिक प्रलोभन समेत नदेखाएको जिकिर गरेका छन् । उनले दुईतीहाई बहुमत पुगेको अवस्थामा गाउँपालिकाको केन्द्र सर्न पनि सक्ने बताउँदै आएका छन् । बबरगञ्जकै वासिन्दा रहेका गाउँपालिका अध्यक्ष महतोले चन्द्रनगर भन्दा बबरगञ्ज ७ वटै वडाका वासिन्दालाई पायक पर्ने बताए ।
प्रतिक्रिया लेख्नुहोस्