काठमाडौं । १४ वर्ष पुरानो गौर घटना पुनः चर्चामा ल्याइएको छ । २०६३ चैत ७ गते रौतहटको गौरमा तत्कालिन मधेशी जनअधिकार फोरम र माओवादीबीच झडप हुँदा २७ जनाको ज्यान गएको थियो । तर त्यो घटनाको बारेमा छानविन भएपनि दोषीमाथि अझै कारवाही नभएको अवस्थामा मृतकका परिवारले फेरि सक्रियता देखाएका हुन् ।
सोही क्रममा मृतकका परिवारले शनिबार प्रधानमन्त्री केपी शर्मा ओलीलाई ज्ञापनपत्र बुझाएर दोषीलाई कारवाही गर्न माग गरेका हुन् । 'गौर हत्याकाण्ड संघर्ष समिति'को तर्फबाट शनिबार प्रधानमन्त्री ओलीलाई भेटेर ज्ञापनपत्रसहित दोषीमाथि कारबाहीको माग गरिएको संघर्ष समितिका सदस्य मनोज यादवले जानकारी दिए ।
छानविन समितिले गौर घटनालाई जघन्य अपराध भनेपनि हालसम्म दोषीमाथि किन कारवाही भएन भनि आफू पनि आश्चर्यमा परेको प्रधानमन्त्री ओलीले ज्ञापनपत्र बुझ्ने क्रममा भनेको सदस्य यादवले बताए । दोषीलाई कारवाही गर्न प्रधानमन्त्री ओली गम्भीर रहेको बताउँदै उनले आफूहरुले बुझाएको ज्ञापनपत्रलाई अध्ययन गरी थप कारवाहीको प्रकृया अगाडि बढाउने आश्वासन दिएको उनको भनाइ छ ।
यो घटनाको दोषी जनता समाजवादी पार्टीका अध्यक्ष उपेन्द्र यादवलाई पनि मानिएको छ । उनको विरुद्धमा प्रहरीमा उजुरी समेत परेको छ । पछिल्लो राजनीतिक घटनाक्रमका बीच गौर घटनालाई ब्युँताउने प्रयास भएको कतिपयको भनाइ छ ।
व्यक्तिगत रिसईवी र राजनैतिक झडपको रुपमा नभइ सुनियोजित र षड्यन्त्रपूर्ण रुपले यो घटना गराइएको दावी गरिँदै आएको छ ।
उपेन्द्र यादव हाल जनता समाजवादी पार्टीका अध्यक्ष हुन् । घटनाको वास्तविक तथ्य पत्ता लगाउनका लागि गठन भएको छानविन आयोगले बुझाएको प्रतिवेदनले पनि घटनालाई राजनैतिक झडप नभइ जघन्य एवं अमानुषिक र अमानवीय अपराध गरेको निष्कर्ष निकालिए पनि अपराधीलाई कानुनको दायरामा नल्याएको गुनासो उनीहरुले गरेका छन् । सो घटनाको बारेमा २०६४ चैत २८ गते जाहेरी दर्ता भएपनि हालसम्म कसैलाई कारवाही नभएको ज्ञापनपत्रमा उल्लेख छ ।
दोषीलाई कानुन बमोजिम अविलम्ब कारवाही नगरे घटनालाई अन्तराष्ट्रिय न्यायालयमा प्रस्तुत गरी अन्तर्राष्ट्रियकरण लगायत राष्ट्रिय स्तर समेतमा विविध प्रकारका संघर्ष गर्ने चेतावनी दिइएको छ ।
प्रतिक्रिया लेख्नुहोस्