वीरगंज । गत वैशाख १६ गते देखि जारी निषेधाज्ञालाई जिल्ला प्रशासन कार्यालय पर्साले थप खुकुलो बनाउँदै भोलिबाट उच्च स्वास्थ्य सतर्कताका साथ जिल्ला भित्र सार्वजनिक यातायात र होटल रेष्टुरेन्ट सञ्चालन गर्ने गरी परिमार्जन गरेको छ ।
तर अझै शैक्षिक संस्थाहरू विद्यालय तथा कलेजहरू भने बन्द नै हुने भएका छन् ।
पर्साका प्रमुख जिल्ला अधिकारी एवम् जिल्ला कोभिड–१९ सङ्कट व्यवस्थापन केन्द्र पर्साका संयोजक पीताम्बर घिमिरेको अध्यक्षतामा आज बसेको बैठकले स्वास्थ्य मापदण्डको पालना गरी पसल, होटेल एवम् रेष्टुरेन्ट कुल क्षमताको ५० प्रतिशत सञ्चालन गर्न दिने निर्णय गरेको छ ।
जिल्लामा जारी निषेधाज्ञाका कारण कोरोना संक्रमण दर कम भएको ठहर गर्दै बैठकले पूर्व निर्णयमा केही परिमार्जन गरी निषेधाज्ञा खुकुलो बनाइएको जिल्ला कोभिड–१९ सङ्कट व्यवस्थापन केन्द्र पर्साका प्रवक्ता एवं सहायक प्रमुख जिल्ला अधिकारी भिमदत्त पौडेलले बताउनुभयो ।
बैठकले सबै प्रकारका सभा, सम्मेलन, गोष्ठी, तालिम, सेमिनार, सिनेमा हल, पार्टी प्यालेस, स्वीमिंग पुल, मनोरञ्जन स्थल, जिमखाना लगायतका भिडभाड हुने स्थानहरूलाई भने बन्द नै राख्ने निर्णय गरेको छ ।
त्यसै गरी बैठकले लामो दुरीका एवम् जिल्ला बाहिर सञ्चालन हुने सार्वजनिक यात्रुवाहक सवारी साधनलाई पनि सञ्चालन गर्न रोक लगाउने निर्णयलाई कायमै राखेको छ । बैठकले यसअघि निश्चित समयमा खुल्ने बजार अब नियमित रुपमा बिहान १० बजेदेखि राति ८ बजेसम्म खोल्न दिने निर्णय गरेको छ ।
जिल्ला कोभिड–१९ सङ्कट व्यवस्थापन केन्द्र पर्साको आज जिल्ला प्रशासन कार्यालय पर्सामा सम्पन्न बैठकले निषेधाज्ञा खुकुलो बनाउँदै अर्को सूचना जारी नभएसम्मका लागि परिमार्जन सहितको निषेधाज्ञा कायम गर्न पर्साका प्रमुख जिल्ला अधिकारीलाई सिफारिस गरेपछि सोही आधारमा सङ्क्रामक रोग ऐन, २०२० को दफा ४ र स्थानीय प्रशासन ऐन, २०२८ को दफा ६ को ३ अनुरूप अर्को आदेश जारी नभइन्जेलका लागि निषेधाज्ञालाई परिमार्जन सहित खुकुलो बनाउँदै लगिएको पर्साका प्रमुख जिल्ला अधिकारी पीताम्बर घिमिरेले बताउनुभयो ।
यता बैठकले नेपाल भारत सिमानाकामा भने नेपाली नागरिकलाई भारत तर्फबाट आउनका लागि इनर्वा नाका मात्रै प्रयोग गर्न दिने र जिल्लाका अन्य नाकाहरू भने पूर्ण रुपमा बन्द नै रहने निर्णय गरेको जिल्ला प्रहरी कार्यालय पर्साका प्रहरी उपरीक्षक बेल बहादुर पाण्डेले बताउनुभयो ।
प्रतिक्रिया लेख्नुहोस्