राजविराज । कोरोना संक्रमण रोकथामका लागि डेढ वर्षदेखि बन्द गरिएको सप्तरीको नेपाल–भारत सीमा नाका बिहीबारदेखि खुलेको छ ।सप्तरीको राजविराज र भारतीय कुनौलि बजार बिहीबारदेखि निजी सवारी साधन सञ्चालन भएको राजविराज भन्सार कार्यालयका सूचना अधिकारी दीप बहादुर कटुवालले जानकारी दिनुभयो ।
नेपाली पक्षले एक साता अघि नै खुला गरे पनि भारतीय पक्षले सवारी आगमनमा रोक लगाएको थियो । ‘हामीले केही दिन अघिदेखि नै नाका खोलेका थियौ, भारतीय पक्षले भने बिहीबारबाट नाका खोलेपछि दुवै देशका नागरिकहरू कोभिड सुरक्षा सतर्कताको पालना गर्दै आवतजावत गर्न सक्छन्’ सप्तरीका प्रमुख जिल्ला अधिकारी जनार्दन गौतमले भने । सवारी साधनको आवतजावत खुला भएपछि सीमा क्षेत्रमा बसोबास गर्ने नेपाल र भारत दुवै देशका नागरिकलाई सहज भएको छ ।
कोरोना संक्रमण रोकथामका लागि २०७६ चैत ११ देखि सीमा नाका बन्द गरिएको थियो । पछि नाकाबाट पैदल यात्रा खुला गरे पनि यातायात सञ्चालनमा भने प्रतिबन्ध लगाइएको थियो ।
नाका सञ्चालन भएपछि भारतीय सवारी साधनहरू नियमानुसारको भन्सार राजश्व तिरेर नेपाल प्रवेश गर्न पाउने भएका छन् । बिहीबार वी आर ५० क्यिु ५४५१ नम्बरको मोटरसाइकललाई भन्सार काटेर नेपाल प्रवेश गरेको राजविराज भन्सार कार्यालयका सूचना अधिकारी कटुवालले बताउनुभयो । भारतीय सवारी साधनको प्रवेश शुरु भएसँगै यहाँका व्यापारीहरू खुशी भएको हो ।
चाडबाड शुरु भएसँगै सीमा नाकामा सहज रुपमा आवतजावत भएपछि किनमेलका लागि दुवै देशको सीमावर्ती बजारमा भिड बढ्न थालेको छ ।
https://ift.tt/eA8V8J
प्रतिक्रिया लेख्नुहोस्