बीरगंज । जिल्ला प्रहरी कार्यालय पर्साले आजबाट चाडपर्वका बेला हुनसक्ने सम्भावित आपराधिक घटनालाई मध्यनजर गर्दै विशेष सुरक्षा योजना लागू गरेको छ ।
जिल्ला प्रहरी कार्यालय पर्सामा आज आयोजित पत्रकार सम्मेलनमा प्रहरी उपरीक्षक बेल बहादुर पाण्डेले नेपालीको महान् चाड बडा दशैँ, तिहार र छठ लगायतका चाडबाडको समयमा आम सर्बसाधरणले चाडपर्व हर्ष र उल्लासमय रुपमा मनाउने वातावरण सृजना गर्न आजबाट विशेष सुरक्षा योजना लागु गरिएको बताउनुभयो ।
चाडबाडको समयमा सर्वसाधारण पर्वमा व्यस्त रहँदा आपराधिक मनोबृत्तीका मानिस सक्रिय रहने र स्वाभाविक रुपमा आपराधिक क्रियाकलापमा वृद्धि हुने सम्भाव्यतालाई दृष्टिगत गरी शान्त र सुरक्षित वातावरणमा जिल्लावासीले चाडपर्व मनाउन पाउने अवस्थाको सुनिश्चित गर्ने उद्देश्यले चाडपर्व लक्षित सुरक्षा योजना बनाई आजबाट कार्यान्वयनमा ल्याइएको प्रहरी उपरीक्षक पाण्डेले दाबी गर्नुभयो ।
विशेष सुरक्षा योजना अन्तरगत एकिकृत रुपमा नेपाल प्रहरी तथा सशस्त्र प्रहरी परिचालन गरिने जनाइएको छ ।
विशेष सुरक्षा योजना अन्तरगत नगर क्षेत्र तथा सीमा नाकामा चेक प्वाइन्ट बढाइएको बताउँदै प्रहरी उपरीक्षक पाण्डेले दसैँ, तिहारमा लामो समयसम्म बिदा हुने भएकाले महत्त्वपूर्ण प्रतिष्ठान तथा सरकारी कार्यालयको सुरक्षाका लागि समेत प्रहरी परिचालन गरिएको जानकारी दिनुभयो ।
बैङ्क तथा वित्तीय संस्थाहरूको सुरक्षालाई समेत ध्यानमा राखी सादा पोसाकमा विशेष टोली परिचालन गरिएको समेत पाण्डेले बताउनुभयो ।
सुरक्षा योजना अन्तरगत कोरोना सङ्क्रमणलाई समेत ध्यानमा राखी उच्च स्वास्थ्य सतर्कता अपनाउँदै शक्तिपिठ तथा मन्दिरहरूमा पूजा आराधना गर्ने , चाडबाडमा हुने कालोबजारी नियन्त्रण गर्ने, खुला सीमाको दुरुपयोग गरी विष्फोटक पदार्थ पटका आयातमा प्रतिबन्ध लगाउने, बजारमा हुन सक्ने भिडभाड र ट्राफिक व्यवस्थापनलाई भरपर्दो बनाउने र सर्वसाधारणलाई भयरहित तरिकाले चाडपर्व मनाउने वातावरण सृजना गरिने प्रहरी उपरीक्षक पाण्डेले बताउनुभयो ।
पत्रकार सम्मेलनमा जिल्ला प्रहरी कार्यालय पर्साका प्रहरी नायव उपरीक्षक एवं प्रवक्ता ओम प्रकाश खनाल, प्रह्लाद कार्की लगायत पर्साका सञ्चारकर्मीहरूको सहभागिता रहेको थियो ।
https://ift.tt/3olCh04
प्रतिक्रिया लेख्नुहोस्