बीरगंज । धार्मिक अतिवाद र आतङ्कवादबाट मुलुकलाई जोगाउन वीरगंजमा आज आयोजित एक कार्यक्रममा सरोकारवालाहरूले आग्रह गर्नुभएको छ ।
राष्ट्रिय एकता अभियान पर्साले आज वीरगंजमा आयोजना गरेको नेपालको राष्ट्रिय सुरक्षा र २६÷११ मुम्बई हमला विषयक परिचर्चा कार्यक्रममा बोल्दै वक्ताहरूले धार्मिक अतिवाद र आतङ्कवाद दुवै क्रियाकलापले नेपालको राष्ट्रिय सुरक्षामा चुनौती थपेको भन्दै चिन्ता व्यक्त गर्नुभएको हो ।
धार्मिक अतिवादी सङ्गठन र बाह्य आतङ्कवादी सङ्गठनहरूबाट भारतमा विभिन्न आपराधिक घटना भएको उदाहरण बताउँदै उहाँहरूले त्यसतर्फ राज्य गम्भीर हुनुपर्ने कुरामा जोड दिनुभएको छ ।
कार्यक्रममा पत्रकार अनिल तिवारीले नेपालको राष्ट्रिय सुरक्षा र २६÷११ मुम्बई हमलाको विषयमा कार्यपत्र प्रस्तुत गर्नुभएको थियो ।
पर्साका सहायक प्रमुख जिल्ला अधिकारी भीमकान्त पौडेलले एक अर्कालाई सम्मानजनक व्यवहार गर्नुपर्नेमा जोड दिँदै शङ्कास्पद गतिविधि भइरहेको जानकारी भए प्रहरी प्रशासनलाई जानकारी गराउन आग्रह गर्नुभयो ।
कार्यक्रममा नेपाल कम्युनिष्ट पार्टी एकीकृत समाजवादीका पर्सा जिल्ला अध्यक्ष बालगोपाल थापाले आतङ्कवादीको कुनै जाति, धर्म र राष्ट्र नहुने बताउँदै आतङ्कवादले राष्ट्रलाई तहसनहस पार्ने भएकोले कसैले पनि त्यसलाई प्रशय दिन नहुने कुरामा जोड दिनुभयो ।
जनता समाजवादी पार्टीका जिल्ला अध्यक्ष राम नरेश यादवले नेपाल भारत खुला सीमाका कारण आवतजावत सहज भएकोले जुनसुकै समयमा अप्रत्याशित घटना हुनसक्ने तर्फ सबै जना सचेत रहनुपर्ने बताउनुभयो ।
उहाँले कुनै वर्ग समुदायलाई दोष दिनुभन्दा भाइचारा, धार्मिक सहिष्णुतामा किन खलबल आइरहेको छ भन्ने विषयमा अध्ययन गर्नुपर्ने बताउनुभयो ।
राष्ट्रिय एकता अभियानका अध्यक्ष विनय यादवले हाम्रो समाजमा अहिले पाकिस्तान, अफगानिस्तान लगायतका देशबाट आएर सेल्टर लिएर बसेकाहरूबाट आतङ्कवादी गतिविधि सञ्चालन हुनसक्ने दाबी गर्नुभयो ।
नेपाल ब्राह्मण समाजका अध्यक्ष हरि नारायण मिश्रले मुम्बई घटना भारतका लागि मात्रै नभएर विश्व समुदायका लागि चेतावनी भएको बताउनुभयो ।
https://ift.tt/3xnXtEY
प्रतिक्रिया लेख्नुहोस्