बर्दिबास । भूमि व्यवस्था, सहकारी तथा गरिबी निवारण मन्त्री शशी श्रेष्ठले सरकारले भूमिहीन सुकुम्बासी तथा अव्यवस्थित बसोबासीहरुलाई सरल तथा छिटोभन्दा छिटो जग्गाधनी प्रमाण पुर्जा(लालपुर्जा) वितरण गर्ने बताउनुभएको छ ।
महोत्तरीको बर्दिबासमा भूमिहीन सुकुम्बासी, भूमिहीन दलित तथा अव्यवस्थित बसोबासीहरुलाई लालपुर्जा वितरण सम्बन्धी अन्तरक्रिया कार्यक्रममा बोल्दै मन्त्री श्रेष्ठले यस्तो बताउनुभएको हो ।
मन्त्री श्रेष्ठले यसअघि भूमिहीन सुकुम्बासी तथा अव्यवस्थित बसोवासीहरुलाई व्यवस्थित गर्न बनेको विभिन्न आयोगले गरेको कामहरूको सम्पुर्ण स्वामित्व लिने बताउनुभयो ।
उहाँले विभिन्न समयमा भूमि सम्बन्धी समस्या हल गर्न गठित आयोगको कामको स्वामित्व लिने र त्यसको आड थप वैज्ञानिक तवरले सरल तथा छिटोभन्दा छिटो जग्गाधनी प्रमाण पुर्जा(लालपुर्जा) सम्बन्धी काम गर्दै उहाँले बताउनुभयो ।
उहाँले मिति नै तोकेर जग्गाधनी प्रमाण पुर्जा(लालपुर्जा) वितरण हुने दिन तोक्न नसकिने भन्दै जनताको पक्षमा निर्णय हुने स्पष्ट पार्नुभयो ।
मन्त्री श्रेष्ठले अहिले गठबन्धनको सरकार छ, दोहोरो चरित्र हुनुहुँदैन । सरकारबाट बाहिरिएपछि चरित्र फेर्नु र कामलाई अल्झाउने गरी सस्तो लोकप्रियताको लागि हचुवामा घोषण गर्न नहुने स्पष्ट पार्नुभयो ।
“जनता भनेको न्याय मूर्ति हो । हिजो चुनावी घोषणा गरेको कुराहरू पूरा गर्नुपर्छ”, उहाँले भन्नुभयो ।
बर्दिबास नगरपालिकाका नगरप्रमुख विदुर कुमार कार्कीले बर्दिबास नगर क्षेत्रमा नाप जाँचको काम सम्पन्न भइसकेको र तथ्याङ्कहरू प्रविष्टि गर्ने कार्य अन्तिम चरणमा रहेको बताउनुभयो ।
उहाँले नापी कार्य अन्तर्गत ९ हजार ४ सय ५९ जना भूमिहीन सुकुम्बासी, भूमिहीन दलित तथा अव्यवस्थित बसोबासीको लगत सङ्कलन भएको बताउनुभयो ।
उहाँले बर्दिबासमा सम्पुर्ण काम अन्तिम चरणमा रहेको छ, प्रक्रिया पूरा गरेकोहरुको लागि छिटो लालपुर्जा वितरण गर्न मन्त्री श्रेष्ठसँग आग्रह समेत गर्नुभयो ।
नगरप्रमुख कार्कीले अवैधानिक तरिकाले २०५६ मा बनेको आयोगले वितरण गरेको लालपुर्जा खारेज गर्नुपर्ने बताउनुभयो ।
वर्षौँदेखि एक किसान त्यो जमिनमा जोतिरहेको छ, अर्को जमिन नै नदेख्नेहरूलाई त्यस बखत आयोगले रकमको चलखेलमा जग्गाधनी प्रमाण पुर्जा (लालपुर्जा) वितरण गरेको भन्दै उहाँले त्यस्तो लालपुर्जा खारेज गर्नुपर्ने बताउनुभयो ।
कार्यक्रममा राष्ट्रिय सभाका उपाध्यक्ष शशिकला दाहाल, प्रदेश २ का प्रदेशसभा सदस्य शारदादेवी थापा र नापी विभागका महानिर्देशकहरूको उपस्थिति रहेको थियो ।
https://ift.tt/3GMmqyo
प्रतिक्रिया लेख्नुहोस्