वीरगज । रौतहटको चन्द्रनिगाहपुरबाट सदरमुकाम गौर जाँदै गरेको कार शनिबार राति दुर्घटना हुँदा मृत्यु भएका ४ जना भारतीय नागरिकको सनाखत भएको छ ।
गौर–चन्द्रनिगाहपुर सडकखण्डको यमुनामाई गाउँपालिकास्थित झुन्खुन्वा चोकनजिक शनिबार राति भारतीय नम्बरको कार दुर्घटना हुँदा कारमा सवार भारत विहार राज्यको पूर्वी चम्पारण जिल्लाको पताही थाना वेतौना घर भएका २५ वर्षीय दिनानाथ साह, ३० वर्षीय अरुण साह, २८ वर्षीय दिलिप महतो र २७ वर्षीय अमित महतोको रुपमा सनाखत भएको जिल्ला प्रहरी कार्यालय रौतहटका प्रहरी प्रहरी उपरीक्षक विनोद घिमिरेले बताउनुभयो ।
मृतकहरूको खल्तीबाट बरामद परिचय पत्रको आधारमा सनाखत गरिएको घिमिरे जानकारी दिनुभयो । राति करिब सवा १० बजेको समयमा यु.के.१२ सी २९०० नम्बरको भारतीय कार झुन्खुवा चौकदेखि उत्तरपट्टि रहेको पेट्रोल पम्प नजिक तीव्र गतिमा आइरहेको बेला अनियन्त्रित भई सडक पेटीभन्दा करिब २० मिटर तल पानीमा डुबेको थियो ।
त्यसपछि कारभित्र रहेका चारै जना बाहिर निस्कन पाएनन् । कारको सबै भाग पानीमा डुबेपछि भित्रका मानिसहरू निसास्सिएर मृत्यु भएको हुन सक्ने प्रहरी उपरीक्षक घिमिरेले बताउनुभयो । दुर्घटना लगतै घटनास्थल पुगेको प्रहरीले कारको सिसा फुटाएर भित्र रहेकाहरूलाई बाहिर निकालेको र तत्काल उपचारका लागी अस्पताल पठाउँदा अस्पतालले मृत घोषणा गरेको थियो ।
मृतकको शव पोष्टमार्टम पछि भारतीय प्रहरीको सहयोगमा आफन्तलाई जिम्मा लगाउने तयारी भएको प्रहरी उपरीक्षक घिमिरेले बताउनुभयो । मृतकहरू रौतहटको देवाही गोनाही नगरपालिका वडा नम्बर ४ स्थित नातामा भिनाजु पर्ने नरेश साहको घरमा छठको प्रसाद पुर्याउन आएका र चार जनालाई रातको समयमा नजान आग्रह गर्दा नमानेको समेत खुल्न आएको छ ।
https://ift.tt/3CaclYp
प्रतिक्रिया लेख्नुहोस्