वीरगंज । कृषि तथा पशुपक्षी विकास मन्त्री महिन्द्र राय यादवले कुस्ती प्रतियोगितालाई नेपाल र भारत तथा सार्क मुलुकमा मात्रै सीमित नराखी अन्तर्राष्ट्रिय रूपमै यसको विस्तार गर्नु पर्ने कुरामा जोड दिनुभयो ।
पर्साको पोखरीयामा छठ पर्वको अवसरमा आज योजना गरिएको अन्तर्राष्ट्रिय कुस्ती प्रतियोगिताको उद्घाटन गर्दै मन्त्री यादवले कुस्ती खेलले नेपाललाई अन्तर्राष्ट्रिय रुपमा चिनाएको हुँदा यसको विकास र विस्तारको लागि सरकार लाग्नु पर्ने कुरामा जोड दिनुभयो ।
कार्यक्रममा जनता समाजवादी पार्टीका केन्द्रीय सदस्य एवम् पर्सा क्षेत्र नम्बर ३ का सांसद हरिनारायण रौनियारले स्थानीय स्तरमा रहेका कुस्ती खेलाडीलाई सरकारले आवश्यक सहयोग गरी अगाडी बढाउनु पर्ने कुरामा जोड दिनुभयो ।
प्रतियोगितामा अन्तर्राष्ट्रिय रुपमा चर्चित नेपाली खेलाडी देवा थापा, सुमित साह सहित भारतीय खेलाडी कला चीका लगायतका राष्ट्रिय तथा अन्तर्राष्ट्रिय रुपमा ख्याति प्राप्त पहलवानहरूको सहभागिता रहेको छ ।
प्रतियोगिताको उद्घाटन कार्यक्रममा प्रदेश सभा सदस्य करिमा बेगम, मन्जुर अन्सारी, लगायत जसपाका नेता तथा कार्यकर्ताहरूको उपस्थिति रहेको थियो ।
https://ift.tt/305KLhC
प्रतिक्रिया लेख्नुहोस्