राजविराज । जनप्रतिनिधिहरूको आन्तरिक विवादका कारण सप्तरीको छिन्नमस्ता गाउँपालिका अस्तव्यस्त बनेको छ ।
गाउँपालिकाको आर्थिक बर्ष २०७७/७८ र चालू आर्थिक वर्ष २०७८/७९ को गाउँसभा नै हुन सकेको छैन । गाउँसभा नहुँदा आर्थिक कारोबार नै रोकिएको छ ।
गाउँसभा हुन नसक्दा गाउँपालिकाका कर्मचारी, शिक्षक र स्वास्थ्यकर्मीले एक वर्षदेखि तलब पाएका छैनन् । सामाजिक सुरक्षा भत्ता वितरण ठप्प भएको छ भने बालबालिकाले पाठ्यपुस्तक पाएका छैनन् ।
गाउँपालिकाका निमित्त प्रमुख प्रशासकीय अधिकृत महेश शर्मा २०७७/७८ मा तलब र सामाजिक सुरक्षा भत्ता खुलाउने निर्णयबाहेक कुनै निर्णय हुन नसकेको बताउनुभयो । ‘त्यति बेला कर्मचारीलाई तलब दिने निर्णय भए पनि पेश्की लिएका कर्मचारीलाई तलब दिइएन’ उहाँ भन्नुहुन्छ , ‘पेश्की फछ्र्याैट गर्दा पनि उनीहरूलाई तलब दिइएन ।’
उहाँका अनुसार शिक्षक, स्वास्थ्यकर्मीलाई साउनदेखि र गाउँपालिकाका कर्मचारीले जेठदेखि तलब आएको छैन ।
सबैभन्दा ठूलो समस्या शिक्षा र स्वास्थ्यमा देखा परेको छ । शैक्षिक सत्रको आधा समय बितिसक्दा पनि विद्यार्थीले पाठ्यपुस्तक पाउन सकेका छैनन् । ‘विद्यार्थीको आधा सेसन गइसक्यो’ शर्मा भन्छन्, ‘१५ दिनमा किताब नदिए त्यसपछि पाउनै गाह्रो हुन्छ ।’
स्वास्थ्य चौकीहरूमा कुनै औषधि छैन । ‘सामान्य सिटामोल र जीवनजल पनि छैन’ गाउँपालिकाको स्वास्थ्य शाखा सह संयोजक दीपेन्द्र यादवले भन्नु भयो, ‘बिरामी आउँदा औषधि दिन सकिरहेको छैन ।’
उहाँका अनुसार आर्थिक वर्ष २०७६/७७ मा खरिद गरिएको औषधि सकिएपछि पछिल्लो ८ महिनादेखि औषधिको अभाव झेल्नुपरेको छ ।
स्वास्थ्य शाखा वर्षाको समयमा डुबानमा पर्ने गरेको छ । वर्षाको समयमा घरभित्रै पस्ने पानीले तीन महिना जति काम गर्न नै समस्या हुने गरेको यादव बताउँछन् । ‘पानी निकास हुन नदिन योजना बनाइएको छ, तर सभा नै हुन नसक्दा पानीभित्रै बस्नुपरेको अवस्था छ । गाउँपालिकामा कार्यालय सञ्चालनका लागि कुनै सामग्री छैन । ‘कसैले कुनै सामान दिन मानिरहेका छैनन्’ निमित्त प्रमुख प्रशासकीय अधिकृत शर्माले भन्नुभयो ।
उहाँका अनुसार विद्युत् प्रयोग गरे बापतको भुक्तानी नगर्दा विद्युत् प्राधिकरणले लाइन काट्ने चेतावनी दिइसकेको छ । ‘एक–दुई वटा मात्रै छैन, हजारौँ समस्या भोग्नुपरेको छ ।
गाउँपालिका र वडा कार्यालय सञ्चालन गर्न घर भाडामा लिइएको छ । तर एक वर्षयता भाडा तिर्न नसक्दा घरधनीले खाली गराउन दबाब दिइरहेका छन् । शर्माका अनुसार कुल ७ वडामध्ये वडा नम्बर १ र ६ पुरानो गाविस भवनमा र वडा नम्बर ३ को कार्यालय छिन्नमस्ता मन्दिरको धर्मशालामै सञ्चालन भइरहेको छ । अन्य वडा कार्यालय कोठा भाडामा लिएर सञ्चालन गरिएको छ । लिइएको कोठाको भाडा तिर्न हाल सम्म तिर्न सकिएको छैन ।
लामो समयदेखि तलब, भत्ता नपाएको भन्दै गाउँपालिकाका कर्मचारी आन्दोलित भएका छन् । गाउँपालिकाका सबै कर्मचारी बुधवार दिउँसो गाउँपालिकाका कार्यालय अगाडि प्रदर्शन गरेका छन् ।
प्रदर्शनमा गाउँपालिका अन्तर्गतका शिक्षक, स्वास्थ्यकर्मी, कृषि, पशु सेवामा कार्यरत कर्मचारीले एकत्रित भएर सहभागिता जनाएका छन् । छिन्नमस्ता बजार क्षेत्रमा परिक्रमा गर्दै कार्यालय अगाडि आएर उनीहरूको प्रदर्शन टुङ्गिएको थियो ।
कर्मचारी आन्दोलित भएपछि जनप्रतिनिधि गाउँसभाको तयारीमा जुटेका छन् । गाउँपालिका अध्यक्ष सूर्यनारायण मण्डलले कात्तिक २६ गते गाउँसभा बोलाइ सकेको बताउनुभयो ।
https://ift.tt/3wdmfr4
प्रतिक्रिया लेख्नुहोस्