बीरगंज । जिल्ला प्रहरी कार्यालय पर्साले चालु आर्थिक वर्षको ३ महिनामा अपराध नियन्त्रणमा भए गरेका गतिविधिहरूको अभिलेख सार्वजनिक गरेको छ ।
जिल्ला प्रहरी कार्यालय पर्साद्वारा आज सार्वजनिक गरिएको अभिलेख अनुसार आर्थिक बर्ष २०७८/०७९ को ३ महिनामा पर्सा प्रहरीले अवैध रुपमा राजस्व छली भारतबाट नेपाल तर्फ भित्र्याइएको ५ करोड ५४ लाख ३ सय ४३ रुपैयाँ बराबरको भारतीय लत्ताकपडा, किराना समान, खाद्यान्न, विद्युत् तथा मेसिनरी पार्टपुर्जा, सवारी साधन बरामद गरेको छ ।
त्यसै गरी प्रहरीले सो अवधिमा ३७ ग्राम सुन तथा ८ किलो ४ सय ८९ ग्राम चाँदी बरामद गरेको छ । सो अवधिमा जिल्ला प्रहरी कार्यालय पर्सामा कर्तव्य ज्यान, ज्यान मार्ने उद्योग, गर्भपतन, आत्महत्या, चोरी, लागु औषध, बैङ्किङ कसुर, ठगी, बोक्सीको आरोप ,मानव बेचबिखन, बलात्कार, लगायतका ३३ शीर्षकका मुद्दाहरूमा ३ सय ७२ जनालाई कारबाही अगाडि बढाएको जिल्ला प्रहरी कार्यालय पर्साका प्रहरी उपरीक्षक बेल बहादुर पाण्डेले बताउनुभयो ।
३ महिनाको अवधिमा ३२ जना फरार अभियुक्त पक्राउ गरी अदालतको फैसला कार्यान्वयनमा समेत प्रहरीले महत्त्वपूर्ण भूमिका खेलेको पाण्डेले बताउनुभयो ।
जिल्ला प्रहरी कार्यालय पर्साले साउन, भदौ, असोज महिनामा अवैध लागु औषधका ६० जना कारोबारीलाई पक्राउ गर्नुका साथै ९ सय ९५ किलो गाँजा, १० किलो चरेश, २० ग्राम हेरोइन र ठूलो परिणाममा फेनारगन, डाइजिपाम, नुर्फिन, नाट्राभेट, कोरेक्स लगायतका लागुऔषधहरु बरामद गरेको पाण्डेले बताउनुभयो ।
त्यसै गरी सो अवधिमा प्रहरीले अवैध हुण्डीको कारोबारमा संलग्न ११ जनालाई पक्राउ गर्नुका साथै उनीहरूबाट ७२ लाख ४ हजार २ सय ८२ रुपैयाँ बरामद गर्नुका साथै प्रतिबन्धित १ लाख ४८ हजार ५ सय भारतीय नोट सहित १ जनालाई पक्राउ गरेको छ ।
यसै गरी पर्सा प्रहरीले सार्वजनिक गरेको अभिलेखमा ३ महिनाको अवधिमा पर्सामा ट्राफिक नियम उल्लङ्घन गर्ने ७ हजार ९ सय सवारी साधनलाई कारबाही गरी ६९ लाख ७० हजार जरिवाना स्वरूप राजस्व सङ्कलन समेत गरेको उल्लेख गरिएको छ ।
सो अवधिमा ठूलो परिणाम अवैध घरेलु मदिरा नष्ट गर्नुका साथै बन पैदावारको चोरी तस्करी नियन्त्रण, नदी तथा निर्माण जन्य पदार्थको अवैध उत्खनन नियन्त्रणमा महत्त्वपूर्ण भूमिका खेलेको र सो अवधिमा ९ वटा ट्रक, १३ वटा मोटरसाइकल र २ वटा ट्याक्टर नियन्त्रणमा लिई भन्सारमा बुझाइएको जिल्ला प्रहरी कार्यालय पर्साका प्रहरी उपरीक्षक पाण्डेले बताउनुभयो ।
https://ift.tt/3whcTe1
प्रतिक्रिया लेख्नुहोस्