बीरगंज । बीरगंज कारागारमा रहेका महिला कैदीबन्दीहरु मध्ये २४ जना महिला कैदीबन्दी छठ पर्व मनाउने तयारीमा जुटेका छन् ।
विभिन्न मुद्दामा सजाय भोगिरहेका व्रतालु कैदीबन्दी महिलाहरू छठको तयारीमा निकै नै व्यस्त भएका छन् ।
परिवारबाट कोही आफन्तजन भेट्न नआए पनि श्रीमान्, सन्तानलगायत घरपरिवारको सुख शान्तिको कामना गर्दै उनीहरू छठी माताको पूजामा जुटेको ४६ बर्षीया लिलावति देवीले बताउनुभयो ।
कैदी जीवन बिताइरहेका पर्सा नितनपुरकी ४६ बर्षीया लिलावति देवी विगत २१ वर्षदेखि छठको व्रत बस्दै आउनुभएको छ । लागु औषधको मुद्दामा पक्राउ परेर आउनुभएकी उनी विगत १५ वर्षदेखि वीरगंज कारागार भित्रै छठको व्रत गर्दै आउनुभएको छ ।
दुई सन्तानकी आमा लिलावतीले जीवनमा आफूले जुनसुकै परिस्थितिमा गल्ती गरे पनि आफ्नो सन्तान सही काम गरोस् भनेर छठी माईसँग बिन्ती गर्ने गरेको बताउनुभयो ।
यसैगरी, लिलावतीसँगै कारागारमा रहेका उषा पाण्डे, उर्मिला पटेल, रम्भा देवी, काली साहले पनि छठ बर्तको तयारी सुरु गर्नुभएको छ ।
यता, बीरगंज कारागार भित्र ६० जना पुरुष पनि छठ बर्तमा जुटेका छन् । पुरुषतर्फ सुरेश राम, दीपेन्द्र वैठा, दिलीप पासवान, ओम प्रकाश यादव लगायतका कैदीबन्दीहरु छठी माताको बर्तको लागि आवश्यक तयारीमा जुटेको बीरगंज कारागारका आन्तरिक प्रशासन प्रमुख फिरोज अन्सारीले जानकारी दिनुभयो ।
पुरुष कारागार परिसरभित्र सानो पोखरी भएकाले भगवान् सूर्यलाई अर्घ दिनका लागि छठको अवसरमा महिला कैदीहरूलाई पुरुष कारागार भित्र प्रवेश गर्न पूजा अवधि भरी दिने व्यवस्था मिलाइएको बीरगंज कारागारका प्रमुख कृष्ण गैरेले बताउनुभयो ।
खर्चिलो मानिने छठ व्रतको तयारीका लागि कारागारको पहलमा वीरगंजका विभिन्न दातृ निकाय तथा सङ्घ संस्थाहरूले महिलाहरूलाई साडी, खाद्यान्न, पूजा सामग्री लगायतको सहयोग प्रदान गरेको गैरेले जानकारी दिनुभयो ।
https://ift.tt/3kgJMCD
प्रतिक्रिया लेख्नुहोस्