महोत्तरी । महोत्तरीमा बोक्सी आरोपमा भएको हत्या र मलमूत्र खुवाई दुर्व्यवहार, कुटपिट घटनाका अभियुक्तलाई जिल्ला अदालत महोत्तरीले पुर्पक्षका लागि थुनामा पठाउन आदेश दिएको छ ।
महोत्तरी गाउँपालिका ३ मडहीमा र जलेश्वर नगरपालिका–४ सुगा गाउँमा बोक्सीको आरोपमा एक महिलाको हत्या र मानव मलमूत्र खुवाएको घटनामा पक्राउ परेका दुई महिलासहित चार जनालाई जिल्ला अदालतले पुर्पक्षका लागि कारागारमा राख्ने आदेश दिएको हो ।
जिल्ला अदालत महोत्तरीका न्यायाधीश ठाकुरप्रसाद खरेल र मुकेश उपाध्यायको बेग्लाबेग्लै इजलासले महिलामाथि बोक्सी आरोपमा भएका दुवै घटनाका अभियुक्तलाई पुर्पक्षका लागि थुनामा पठाउने आदेश दिएको हो । महोत्तरी गाउँपालिका ३ मडहीमा ४२ वर्षीया शीलादेवी झाको गत २८ असोजमा देवर सञ्जयकुमार झाले गरेको हत्या घटना र जलेश्वर नगरपालिका ४ सुगाकी सुकमरिया देवीलाई छिमेकीहरूले मलमूत्र खुवाई गरेको दुर्व्यवहार घटनामा संलग्नहरूलाई अदालतले कारागार पठाउन आदेश दिएको अदालतका श्रेस्तेदार मदनप्रसाद जयसवालले बताउनुभयो ।
श्रेस्तेदार जयसवालका अनुसार स्थानीय सिकिन्दर महतोकी पत्नी पुरनीदेवी, रगेश्वर महतोकी पत्नी प्रमिलादेवी, रगेश्वर महतोकै जेठो छोरा सिकिन्दर र कान्छो छोरा अनिललाई पुर्पक्षका लागि जलेश्वर कारागारमा पठाइएको हो ।
सोमबार जिल्ला अदालतको ६ नम्बर बेन्चमा भएको थुनछेक बहसको क्रममा न्यायाधीश खरेलले अभियुक्त सञ्जयलाई पुर्पक्षका लागि थुनामा पठाउन आदेश दिएका थिए । २ नम्बर बेन्चमा भएको बोक्सी आरोपकै कुटपिट मुद्दामा थुनछेक बहसपछि न्यायाधीश उपाध्यायले अभियुक्तहरू ६५ वर्षीया प्रमिला देवी, उनका छोराहरू ३५ वर्षीय सिकिन्दर महतो र २० वर्षीय अनिल महतो तथा ३२ वर्षीया बुहारी पुरनी देवीलाई पुर्पक्षका लागि थुनामा पठाएको श्रेस्तेदार जयसवालले जानकारी दिनुभयो ।
https://ift.tt/3o97GRO
प्रतिक्रिया लेख्नुहोस्