वीरगंज । वीरगंज पथलैया औद्योगिक कोरिडोरमा रहेको अन्नपूर्ण लेदर ट्रेनिङ इन्डस्ट्रिजले गलत विवरण घोषणा गरेर निकासी गर्न लागेको १ कन्टेनर छाला वीरगञ्ज स्थित सुक्खा बन्दरगाहमा डेढ महिनादेखि थन्किएको छ ।
चिनियाँ लगानीमा रहेको अन्नपूर्ण लेदर टेनिङ इन्डस्ट्रिजले एचएस कोड र उत्पादन फरक पारेर निकासी गर्न लागेको छाला भन्सारले रोकेको हो । भन्सारले जाँचपास गरिसकेको छाला अन्य केही उद्योगीले उजुरी गरेपछि भन्सार आफैले रोकेको थियो ।
उद्योगीहरूले नै उक्त छाला प्रतिबन्धित भएको दाबी गरेपछि रेलमा लोड गर्न तयारी अवस्थामा राखिएको छाला रोक्न भन्सार बाध्य बनेको हो ।
भन्सार जाँचपास गरेर कस्टम ट्रान्जिट डिक्लियरेन्स (सीटीडी) समेत तयार पारेको १ कन्टेनर छाला विवादित भएपछि डेढ महिनादेखि भन्सारको गोदाममा थन्किएको सुख्खा बन्दरगाह भन्सार कार्यालयका प्रमुख डा.लाल बहादुर खत्रीले बताउनुभयो ।
रोकिएको छाला अब के गर्ने भन्ने बारेमा अन्योल भएको र छाला पुनः परीक्षणको लागि पठाउने कि जफत गर्ने भन्ने विषयमा भन्सार विभागसँग समन्वय भइरहेको खत्रीले जानकारी दिनुभयो ।
भन्सारले ओओसीयु ८५४६३०२ नम्बरको छाला लोड भएको ४० फिटको कन्टेनरमा ओओएल इभीजे ७७८६ नम्बरको सिल लगाइसकेको छाला विवादित भएपछि भन्सारले नेपाल लेदर टेनर्स एसोसिएसनका पदाधिकारीहरूलाई बोलाएर छालाको नमुना देखाएको थियो ।
उद्यमीले उक्त उद्योगले प्रतिबन्धित छाला निकासी गर्न लागेको दाबी गरेका थिए । छालाको नमुना प्रज्ञापनमा उल्लेख गरिएको एचएस कोडभन्दा फरक रहेको भन्दै निकासी गर्न नमिल्ने बताएका थिए ।
अहिले प्रतिबन्धित छाला भन्सारबाट कसरी जाँचपास भयो भन्ने प्रश्न उठेको छ । भन्सार विभागले लेखेको पत्र र त्यसकै आधारमा विगतमा समेत प्रतिबन्धित छाला निकासी भएको रहस्य खुलेपछि भन्सार पनि शङ्काको घेरामा तानिएको वीरगंजका छाला निकासी कर्ताहरूले बताएका छन् ।
https://ift.tt/3dZCWOe
प्रतिक्रिया लेख्नुहोस्