बीरगंज । पूर्व प्रधानमन्त्री एवं नेकपा एमाले अध्यक्ष केपी शर्मा ओलीले मुलुकमा देखिएको राजनैतिक बेथितिको व्यवस्थापनका लागि निर्वाचन अति आवश्यक रहेको कुरामा जोड दिनु भएको छ ।
नेकपा एमाले पर्साद्वारा आज जगरनाथपुरमा आयोजित दशौं राष्ट्रिय महाधिवेशनको सन्देश सभा तथा वृहत् पार्टी प्रवेश कार्यक्रमलाई सम्बोधन गर्दै अध्यक्ष ओलीले नेपालको समग्र भूगोल समेटेर नक्सा जारी गर्ने र नक्सामा भएको जमिन हाम्रो हो भनेर माग्ने सक्ने एमाले मात्र भएको र अरूसँग त्यो तागत नरहेको बताउनुभयो ।
उहाँले हुलाकी सडकले तराई मधेशको समृद्धि र विकासको ढोका खोलेको बताउँदै आज ज्येष्ठ नागरिक लगायत विभिन्न व्यक्तिहरूले पाउने सामाजिक सुरक्षा भत्ताले अपाङ्ग, असक्त, एकल महिलाको जीवन स्तरमा आमूल परिवर्तन आएको दाबी गर्नुभयो ।
उहाँले वर्तमान सरकार जनताको आदेशबाट नभई अध्यादेशबाट आएको हुँदा जनता प्रति उत्तरदायित्व नरहेको आरोप लगाउनुभयो ।
उहाँले हिजो आफूहरूले साथ दिएकै कारण माओवादी केन्द्र यो स्थान सम्म आइपुगेको बताउँदै प्रचण्डले कुरा नबुझ्दा पतनको बाटो तर्फ माओवादी केन्द्र पुगेको दाबी गर्नुभयो ।
कार्यक्रममा नेकपा एमालेका उपाध्यक्ष विष्णु पौडेल, नेकपा एमालेका प्रदेश २ का इन्चार्ज रघुवीर महासेठ, सहइन्चार्ज ज्वाला साह, पूर्व मन्त्री पोलिटब्युरो सदस्य लीला श्रेष्ठ, पोलिटब्युरो सदस्य सुमन प्याकुरेल, पुरुषोत्तम पौडेल, जुली महतो, केन्द्रीय सदस्य निर्मला देवकोटा राजकुमार गुप्ता, सहितका नेताहरू सहभागिता रहेको थियो ।
यसैबिच नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीलाई पर्सामा एक सय ५१ किलोको माला लगाइएको छ ।
पार्टी प्रवेश कार्यक्रममा जगरनाथपुर गाउँपालिकाका अध्यक्ष जालीम मियाको अगुवाइमा उहाँलाई १ सय ५१ किलोको माला लगाइएको हो ।
कार्यक्रममा नेकपा माओवादी केन्द्रका केन्द्रीय सल्लाहकार जालिम मिया, पर्सा क्षेत्र नम्बर २ का नेकपा माओवादीका उम्मेदवार मुसालिन मियाँ, लोसपाका युवा नेता चन्दन मिश्र, मनोहर मिश्र लगायत ६ हजार १ सय ८० जना नेकपा एमालेमा प्रवेश गरेको नेकपा एमाले पर्साका अध्यक्ष प्रभु हजराले बताउनुभयो ।
https://ift.tt/3FrQSg0
प्रतिक्रिया लेख्नुहोस्