धनुषा । नेपाली काँग्रेसको १४औँ महाधिवेशनअन्तर्गत प्रदेश नं २ को नयाँ नेतृत्वका लागि आज भइरहेको मतदान जारी छ । योसँगै उम्मेदवारहरूले मतदातासँग मत माग्ने क्रम पनि जारी रहेको छ ।
बुधवार नै मतदान हुने कार्य तालिका रहे पनि मतपत्र छपाइमा भएको ढिलाइका कारण आज बिहान १० बजेदेखि मतदान सुरु भएको थियो । दिउँसो २ बजेसम्ममा ७०० जनाले मतदान गर्नुभएको निर्वाचन समितिका संयोजक प्रह्लाद गौतमले जानकारी दिनुभयो ।
आज दिउँसो ३ बजेसम्मका लागि मतदानको समय तोके पनि मतदाताको लामो लाइन भएको हुँदा मतदान कार्यक्रम अबेर साँझसम्म चल्ने बताइएको छ ।
जनकपुरधामको गोपाल धर्मशालामा कडा सुरक्षाबीच मतदान कार्यक्रम भइरहेको छ । अहिलेसम्म व्यवस्थित रुपमा मतदान भइरहेको निर्वाचन समितिले जनाएको छ ।
मतदानका लागि दुई–दुई जिल्ला गरेर चार वटा बुथको व्यवस्था गरिएको छ । धनुषा–महोत्तरी, सिराहा– सप्तरी, सर्लाही– रौतहट र बारा– पर्साका गरेर चार वटा बुथ तोकेर मतदाताले मतदान गरिरहेका छन् ।
कांग्रेस प्रदेश नं २ को नयाँ नेतृत्वका लागि संस्थापन पक्ष र कोइराला–निधि पक्ष प्यानलसहित चुनावी प्रतिस्पर्धामा उत्रिएका छन् । सहमतिमा नेतृत्व टुङ्गो लगाउने प्रयास असफल भएपछि दुवै समूह छुट्टाछुट्टै प्यानल बनाएर चुनावी मैदानमा उत्रिएका हुन् ।
संस्थापन पक्षले कांग्रेस रौतहटका सभापति कृष्णा यादवको नेतृत्वमा प्यानलसहित उम्मेदवारी दर्ता गराएको छ भने कोइराला–निधि पक्षले कांग्रेस प्रदेश नं २ संसदीय दलका नेता रामसरोज यादवको नेतृत्वमा प्यानलसहित उम्मेदवारी दर्ता गराएको छ ।
कूल ७२ पदका लागि १७४ जनाले विभिन्न पदमा उम्मेदवारी दिएका छन् । जसमध्ये पाँच जना सदस्य निर्विरोध निर्वाचित भएको र छ जना उम्मेदवारले उम्मेदवारी फिर्ता लिइसकेका छन् ।
प्रदेश नं २ का आठ जिल्लाको ६४ वटा प्रदेश निर्वाचन क्षेत्रबाट २५ जना गरी दुई हजार मतदाता रहेको बताइएको छ । यसैबीच काँग्रेसका नेता एवम् पूर्व उपसभापति बिमलेन्द्र निधिले गोपाल धर्मशालामा पुगेर मतदान गर्नुभएको छ ।
https://ift.tt/3yUlZP1
प्रतिक्रिया लेख्नुहोस्