जनकपुरधाम । जनकपुरधाममा जारी रहेको सप्ताहव्यापी विवाह पञ्चमी महामहोत्सवको तेस्रो दिन आज धनुष यज्ञ मनाइँदै छ ।
त्रेता युगमा तत्कालीन मिथिलाका राजा जनकले जनकपुरधाममा गर्नुभएको धनुष यज्ञमा विभिन्न देशका राजा रजौटा तथा युवराजहरू सहभागी भएको स्मरणमा प्रत्येक वर्ष आजको दिन धनुष यज्ञको आयोजना गरिँदै आएको छ ।
तत्कालीन अयोध्याका राजा दशरथका ज्येष्ठ सुपुत्र राम, लक्ष्मणसहित गुरु विश्वामित्र धनुष यज्ञमा सहभागी हुनका लागि जनकपुरधाम आउनुभएको स्मरणमा जानकी मन्दिरको प्राङ्गणमा आज धनुष यज्ञको आयोजना गर्न लागेको जानकी मन्दिरका उत्तराधिकारी महन्थ रामरोशन दास वैष्णवले जानकारी दिनुभएको छ ।
जनकपुरधामको जानकी मन्दिरको विशेष मञ्चमा आयोजना हुने सो धनुष यज्ञ हेर्नका लागि ठूलो सङ्ख्यामा भक्तजनहरूको सहभागिता हुने गर्दछ ।
सप्ताहव्यापी विवाह पञ्चमी महामहोत्सव अन्तर्गत यसअघि नगर दर्शन, फूलबारी लीला सम्पन्न भएको छ भने आज धनुष यज्ञ मनाइँदै छ । भोलि सोमबार मङ्सिर २० गते तिलको्त्सव, मङ्सिर २१ गते मटकोर, २२ गते शुभ विवाह तथा २३ गते रामकलेवा विधि गरेर यस वर्षको श्री सीताराम विवाह पञ्चमी महामहोत्सवको समापन गर्ने कार्यक्रम रहेको जानकी मन्दिरका महन्थ दास वैष्णवले जानकारी दिनुभयो ।
यस वर्ष भारतको अयोध्याबाट जन्ती आउने कार्यक्रम रहेको छैन । पाँच वर्षको अन्तरालमा मात्र अयोध्याबाट जन्ती आउने परम्परा रहेको छ ।
यस वर्ष कोरोनाको नयाँ भेरियन्ट फेला परेका कारणले अहिलेसम्म विशिष्ट साधुसन्तहरु आउने सम्भावना नरहेको जानकी मन्दिरका उत्तराधिकारी महन्थ दासले जानकारी दिनुभयो ।
श्री सीताराम विवाह पञ्चमी महामहोत्सवमा नेपाल भारतको विभिन्न भागहरूबाट ठूलो सङ्ख्यामा भक्तजनहरू आउने गर्दछन् ।
https://ift.tt/eA8V8J
प्रतिक्रिया लेख्नुहोस्