जनकपुरधाम । नेपाली काँग्रेसको १४औँ महाधिवेशनको क्रममा बाँकी रहेको प्रदेश नंं २ को प्रदेश अधिवेशनको चुनावी प्रक्रिया आजबाट शुरु भएको छ ।
प्रदेशको चुनाव अन्तर्गत आज दिउँसोसम्म मतदाता नामावली प्रकाशन गर्ने काम सम्पन्न भएको छ भने साँझ साढे चार बजेसम्म उम्मेदवारको मनोनयन पत्र दर्ता गर्ने कार्यक्रम रहेको निर्वाचन अधिकृत प्रल्हाद गौतमले जानकारी दिनु भएको छ ।
आजै उम्मेदवारी फिर्ता लिने, दाबी विरोध, अन्तिम नामावली प्रकाशित गर्ने कार्यक्रम तय गरेको छ भने भोलि बिहान ८ बजेदेखि साँझ ४ बजेसम्म मतदान हुने कार्यक्रम रहेको छ । अहिले जनकपुरधामको होटल, लज तथा धर्मशालाहरू महाधिवेशन प्रतिनिधि तथा काँग्रेसका नेता एवं कार्यकर्ताहरूबाट भरिएको छ ।
जनकपुरधामको गोपाल धर्मशालामा उम्मेदवारको मनोनयन पत्र दर्ता हुने क्रम जारी रहेको छ । खास गरेर प्रदेश नंं २ को प्रदेश सभापतिमा अहिलेसम्म दुई खेमा रहेको छ । नेपाली काँग्रेसको संस्थापन अर्थात् पार्टीका सभापति शेरबहादुर देउवा पक्षबाट रौतहट जिल्लाका सभापति श्रीकृष्ण यादव प्रदेश सभापतिमा प्यानल सहित उम्मेदवारी दिन लाग्नुभएको छ ।
यसै गरी विमलेन्द्र निधिको पक्षबाट प्रदेश नंं २ को नेपाली काँग्रेसका संसदीय दलका नेता एवं भौतिक पूर्वाधार तथा विकासमन्त्री रामसरोज यादवले समूहगत रूपमा नै उम्मेदवारी दिन लाग्नुभएको छ ।
अहिले दुवै खेमाका उम्मेदवारहरू प्रचार प्रसारमा सक्रिय भएका छन् । उनीहरूले विभिन्न माध्यमको प्रयोग गरेर मत माग्ने क्रम शुरु गरेका छन् । गोपाल धर्मशाला क्षेत्र उम्मेदवारहरूको ब्यानर तथा तुलले भरिभराउ बनेको छ ।
प्रदेश निर्वाचनमा मतदान गर्ने केन्द्रीय, प्रदेश महाधिवेशन प्रतिनिधि, केन्द्रीय पदाधिकारी गरेर १ हजार ९ सय ९२ जना मतदाताहरू रहनु भएको छ । प्रदेश महाधिवेशन प्रतिनिधिहरू प्रायः जनकपुरधाम आइसक्नु भएको छ ।
नेपाली काँग्रेसको प्रदेश अधिवेशनका लागि नेपाली काँग्रेसका शीर्ष तहका नेताहरू जनकपुरधाम आएका छन् भने कतिपय नेताहरू आउने क्रम जारी रहेको छ जनकपुरधाम पुनः काँग्रेसमय बनेको छ ।
https://ift.tt/33NgyWF
प्रतिक्रिया लेख्नुहोस्