जनकपुरधाम । नेपाली काँग्रेसको १४औँ महाधिवेशन अन्तर्गत बाँकी रहेको प्रदेश नंं २ को प्रदेश अधिवेशन अन्तर्गत नया नेतृत्व चयनका लागि आज मतदान जारी रहेको छ ।
बिहान ९ः४५ बजेबाट सुरु भएको मतदान अन्तर्गत १२ः०० बजेसम्ममा ५ सय मतदाताहरूले मतदान गर्नुभएको निर्वाचन समितिका संयोजक प्रह्लाद गौतमले जानकारी दिनुभयो ।
दिउँसो ३ः०० बजेसम्मका लागि मतदानको समय तोके पनि मतदान कार्यक्रम साँझसम्म चल्ने बताइएको छ । मतदाताहरू लामो लाइनमा बसेका छन् ।
जनकपुरधामको गोपाल धर्मशालामा कडा सुरक्षाका साथ मतदान कार्यक्रम भइरहेको छ । मतदान स्थलमा प्रवेश गर्ने ठाउँमा थोरै सङ्ख्यामा मतदातालाई प्रवेश गर्न दिइएका कारणले व्यवस्थित रुपमा मतदान कार्यक्रम भइरहेको निर्वाचन समितिले जनाएको छ ।
मतदानका लागि दुई–दुई जिल्ला गरेर ४ वटा बुथ व्यवस्था गरिएको छ । धनुषा–महोत्तरी, सिराहा– सप्तरी, सर्लाही– रौतहट र बारा– पर्साका गरेर ४ वटा बुथ तोकेर मतदाताले मतदान गरिरहेका छन् ।
प्रदेश नंं २ का कूल १ हजार ८ सय ३६ जना मतदाताहरू रहेका छन् । यसैबीच मतदाताहरूसँग उम्मेदवारहरूले मत माग्ने क्रम जारी रहेको छ ।
प्रदेश नंं २ को प्रदेश सभापतिमा संस्थापन पक्षबाट रौतहट जिल्लाका पार्टी सभापति कृष्ण यादव तथा संस्थापन इतर पक्षबाट नेपाली काँग्रेसका संसदीय दलका नेता एवं प्रदेश नंं २ को भौतिक पूर्वाधार विकास मन्त्री रामसरोज यादवले प्यानल उम्मेदवारी दिएर प्रतिस्पर्धा गरिरहनुभएको छ ।
८ पदाधिकारीसहित कूल ६७ पदका लागि मतदान अहिले मतदान भइरहेको छ ।
यसैबीच नेपाली काँग्रेसका पूर्व उपसभापति विमलेन्द्र निधिले पनि गोपाल धर्मशालामा पुगेर मतदान गर्नुभएको छ ।
https://ift.tt/3pkiaPZ
प्रतिक्रिया लेख्नुहोस्