वीरगंज । वीरगंज स्थित नारायणी अस्पतालमा उपचारका लागि भर्ना भएका १ जना कोरोना सङ्क्रमितको आज दिउसो उपचारको क्रममा मृत्यु भएको छ ।
नारायणी अस्पतालमा भर्ना भएका रौतहट जिल्लाको राजपुर नगरपालिका वडा नम्बर १ निवासी ७७ वर्षीय कोरोना संक्रमित पुरुषको नारायणी अस्पतालको आइसियु कक्षमा उपचारको क्रममा आज दिउँसो मृत्यु भएको अपतालका कोभिड संयोजक डाक्टर उदय नारायण सिंहले जानकारी दिनुभयो ।
उच्च ज्वरो, रुघाखोकी निमोनिया र श्वासप्रश्वासमा समस्या देखिएपछि नारायणी अस्पतालमा गत माघ ११ गते भर्ना भएका पुरुषको माघ १४ गते एन्टिजेन परीक्षणको क्रममा कोरोना संक्रमण पुष्टि भएको थियो ।
मृतकले कोरोना संक्रमण विरुद्धको कुनै पनि खोप नलगाएको पारिवारिक श्रोतले जनाएको छ ।
कोरोना सङ्क्रमणको तेस्रो लहर फैलिएसँगै १० दिन यता वीरगंजमा आजको घटना सहित ७ जना सङ्क्रमितको मृत्यु भएको छ ।
हाल नारायणी अस्पतालमा १३ जना कोरोना सङ्क्रमितको आइसियुमा उपचार भइरहेको छ । जसमध्ये ७ जना सङ्क्रमितको अवस्था गम्भीर रहेको नारायणी अस्पतालका चिकित्सक डा. नीरज सिंहले बताउनुभयो ।
वीरगंजमा मृत्यु भएका ७ जनाको अध्ययन गर्दा कोरोना संक्रमण सँगै पुरानो रोगको कारण बिरामीहरू सिकिस्त बनी अस्पताल आउने गरेको र दम, मधुमेह, उच्च रक्तचापका बिरामीहरूको मृत्यु भएको डा.सिंहले बताउनु भयो ।
यसैबीच वीरगंज स्थित नारायणी अस्पतालको प्रयोगशालामा गरिएको पिसिआर परीक्षणको क्रममा आज २६ जनामा कोरोना संक्रमण पुष्टि भएको छ ।
अस्पतालले आज बिहान सार्वजनिक गरेको पिसिआर परीक्षणको रिपोर्ट अनुसार ६५ जनाको परीक्षण भएकोमा २६ जनामा संक्रमण देखिएको नारायणी अस्पतालका कोभिड संयोजक डा. उदय नारायण सिंहले बताउनुभयो ।
संक्रमित मध्ये १७ जना पुरुष र ९ जना महिला रहेका छन् । सङ्क्रमितको उमेर समूह २२ देखि ७० बर्ष सम्म रहेको डा. सिंहले बताउनुभयो ।
यसैगरी संक्रमित हुनेहरू मध्ये पर्साका १९, बाराका ५, रौतहट १, सर्लाही १ र धनुषाका १ जना रहेको डा. सिंहले जानकारी दिनुभयो ।
https://ift.tt/jvdgKI7iL
प्रतिक्रिया लेख्नुहोस्