राजविराज । कार्यालय सञ्चालनको लागि चाहिने अत्यावश्यक स्रोत साधनहरू उपलब्ध नहुँदा सप्तरीको छिन्नमस्ता गाउँपालिकाबाट सर्वसाधारणहरूलाई सेवा दिन समस्या भएको छ ।
जनप्रतिनिधि र कर्मचारीबीचको अन्तर कलहले पटक–पटक विवाद उत्पन्न भएपछि हुँदै आएपछि सो पालिकाको कर्मचारीहरूलाई सेवा दिन समस्या भइरहेको गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत मदनेश्वर प्रसाद चौधरीले बताउनुभयो ।
सेवा दिन समस्या हुन थालेपछि चार बुँदे माग अघि सार्दै कर्मचारीहरूले आन्दोलन नै गर्ने निर्णय गरेको उहाँले बताउनुभयो । कार्यालय सञ्चालनको लागि चाहिने अत्यावश्यक स्रोत साधनहरू तत्काल उपलब्ध हुनुपर्ने, गाउँपालिका अन्तर्गत कार्यरत कर्मचारीहरूको विगतदेखि हालसम्मको तलब भत्ता उपलब्ध हुनुपर्ने, जनप्रतिनिधिहरुबीच रहेको अन्तर द्वेषलाई शान्तिपूर्ण रुपमा सहमति गरी भयरहित अवस्थामा कामकाज गर्ने वातावरण सृजना हुनुपर्ने र अविलम्ब सामाजिक सुरक्षा भत्ता वितरण हुनु कर्मचारीहरूको माग छ ।
अविलम्ब माग सुनुवाइ नभए आगामी अत्यावश्यक बाहेक गाउँपालिका अन्तर्गत सबै कामकाज ठप्प पार्ने उनीहरूले चेतावनी समेत दिएका छन् । ‘जनप्रतिनिधिहरू बीचको अन्तर कलहले आर्थिक वर्ष ०७७/०७८ देखि हालसम्म गाउँसभा हुन सकेको छैन गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत चौधरीले भन्नुभयो ‘जसका कारणले सबै योजना र कार्यक्रमका साथै दैनिक प्रशासनिक कामकाज प्रभावित हुन पुगेको छ ।’
गाउँसभा नहुँदा गाउँपालिकामा आर्थिक दायित्वसम्म भुक्तानी हुन नसकेको उहाँले बताउनुभयो । ‘विगत १९ महिनादेखि यहाँका शिक्षक र राष्ट्रसेवक कर्मचारीहरूले तलब भत्ता खान पाएका छैनौँ, कार्यालय सञ्चालनको लागि चाहिने आवश्यक स्टेशनरी, फर्निचर, फिक्चर्स, इलेक्ट्रोनिक्स जस्ता उपकरणहरू अभाव भएको छ भने र इन्टरनेटसम्मको बिल फर्छ्यौट गर्न सकिएको छैन ।’, अधिकृत चौधरीले भन्नुभयो ।
यसअघि गत मङ्सिर १ गतेदेखि ती समस्याहरूलाई लिएर ‘पेन डाउन’सम्मको कार्यक्रम गरिसकेको उहाँले बताउनुभयो ।
यता, गाउँपालिका अध्यक्ष सूर्यनारायण मण्डलले आफूलाई बदनाम गर्न कर्मचारी र केही जनप्रतिनिधिहरू गुटबन्दी गरेका कारण समस्या समाधान गर्न ढिलाइ भइरहेको बताउनुभयो ।
https://ift.tt/3tQTH7n
प्रतिक्रिया लेख्नुहोस्