वीरगञ्ज, ५ माघ । मधेसका मुख्यमन्त्री लालबाबु राउतको घरमा ढुङ्गा प्रहार गर्ने व्यक्ति रिहा भएका छन् । मुख्यमन्त्री राउतको वीरगञ्जस्थित निवासमा मंगलबार ढुङ्गा प्रहार गरेको आरोपमा पक्राउ परेका नेपाली विद्यार्थी संघका नेता सुमन पटेल आज रिहा भएका हुन् ।
राउत आफैले प्रहरीलाई निर्देशन दिएर पटेललाई रिहा गर्न लगाएका हुन् । पर्साका प्रहरी नायव उपरीक्षक (डिएसपी) ओमप्रकाश खनालका अनुसार मुख्यमन्त्री राउतले आफै फोन गरेर पटेललाई रिहा गर्न निर्देशन दिएपछि उनलाई सामान्य तारेखमा रिहा गरिएको छ ।
सोमबार दिउँसो नेपाली कांग्रेस वीरगञ्ज महानगर कमिटिले मधेसको राजधानी जनकपुरधाम कायम भएपछि विरोध प्रदर्शन गर्न निकालेको जुलुसमा सहभागी पटेलले मुख्यमन्त्री राउतको तेजारथ टोलस्थित निवासमा ढुङ्गा प्रहार गरेका थिए । वीरगञ्जलाई राजधानी बनाउन राउतले कुनै पहल नगरेको आक्रोसमा पटेलले ढुङ्गा चलाउँदा उनको घरको २ वटा सिसा फुटेको थियो ।
ढुङ्गा प्रहार भएको केहि घण्टा भित्रै प्रहरीले सिसी क्यामेराको सहयोगले पटेलको सनाखत गर्दै उनलाई पक्राउ गरेर उपद्रव सम्बन्धी कसूरमा मुद्दा चलाएर आवश्यक मुद्दा चलाएको थियो । यद्दपी, आज मुख्यमन्त्री राउतले आफै पटेललाई रिहा गर्न प्रहरीलाई निर्देशन दिएपछि उनलाई छोडिएको प्रहरी प्रवक्ता समेत रहेका डिएसपी खनालले बताए ।
पटेल रिहा भएपछि नेपाल विद्यार्थी संघ तथा नेपाली कांग्रेसका नेता र कार्यकर्ताले उनको फुल माला लगाएर स्वागत गरेका छन् । पक्राउ परेदेखिनै पटेललाई रिहा गर्न समाजिक सञ्जाल मार्फत दवाव सृजना भएको थियो ।
पटेललाई तारेखमा रिहा गरिएको डिएसपी खानलले जानकारी दिए । अनुसन्धान अन्त्य नभएसम्म उनलाई दैनिक जिल्ला प्रहरी कार्यालय पर्सा पुगेर हाजेरी गर्नुपर्ने हुन्छ ।
प्रतिक्रिया लेख्नुहोस्