बारा, २६ पुस । कलैया बजारमा हाल उत्पादित हिउँदे तरकारी करिब ५० प्रतिशतले सस्तोमा बिक्री भइरहेको कृषकहरूले बताएका छन् । यस वर्ष २०७८/७९ मा कृषकहरूले कुल ६ हजार ३ सय ४० हेक्टर क्षेत्रफलमा हिउँदे तरकारी काउली, भन्टा, बन्दाकोबी, ब्रोकाउली, मुला, केराउ, गोलभेँडा र साग उत्पादन गरेकामा सो तरकारीहरू कलैया बजारमा ५० प्रतिशतले सस्तो रूपमा बिक्री भई रहेको कृषि ज्ञान केन्द्रका कृषि विज्ञ गेनालाल मण्डलले जानकारी दिनुभयो ।
कलैया बजारमा ब्रोकाउली प्रति किलो रू ५०, गोलभेँडा रू ५०, केराउ रू ५०, काउली २०, भन्टा रू २०, मुला रू १५ र साग प्रति मुठा रू २ रुपियाँँको दरले बिक्री भइरहेको बजार समिति ले जनाएको छ । सो तरकारी पुस महिनाको पहिलो सातामा ब्रोकाउली प्रति किलो रू १ सय, गोलभेँडा ८०, केराउ ८०, काउली रू ४०, भन्टा ४०, मुला २५ र साग प्रति मुठा रू ५ मा बिक्री भएको थियो ।
आर्थिक वर्ष २०७७र७८मा कृषकहरूले कुल ६ हजार ३ सय २५ हेक्टर क्षेत्रफलमा हिउँदे तरकारी खेती गरी प्रति हेक्टर १६ मेट्रिक टनले १ लाख १ हजार २ सय मेट्रिक टन तरकारी उत्पादन भएको थियो ।
प्रतिक्रिया लेख्नुहोस्