जनकपुरधाम । माछा उत्पादनको दृष्टिकोणले मधेश प्रदेश निक्कै अग्रस्थानमा पुगेको छ । मधेश प्रदेशमा उत्पादन भएको माछाले नेपालको आन्तरिक मागको पूर्ति गर्दै अहिले सीमावर्ती भारतीय बजारमा निर्यात हुन थालेको छ ।
केही वर्ष अगाडि मधेसका जिल्लाहरूमा भारतको आन्द्र प्रदेशबाट वर्फमा ल्याएको माछाहरू बजारमा बिक्री हुने गरेकोमा अहिले आएर माछाको क्षेत्रफल विस्तार भएर उत्पादन तथा उत्पादकत्वमा वृद्धि भएपछि अहिले भारतमा नै बिक्रीका लागि जाने गरेको छ । अहिले मधेश प्रदेशका धनुषा तथा बारा जिल्लामा अत्यधिक मात्रामा माछाको उत्पादन हुने गरेको छ । अन्य जिल्लाहरूमा पनि उत्पादन हुने क्रममा वृद्धि नै भइरहेको छ ।
माछाको क्षेत्रफल वृद्धि गर्नका लागि पोखरी खनाउने कार्यक्रममा मधेश प्रदेशको भूमि व्यवस्था कृषि तथा सहकारी मन्त्रालय तथा संघीय सरकारले सञ्चालन गरेको राष्ट्रिय गौरवको आयोजनाको रुपमा रहेको प्रधानमन्त्री कृषि आधुनिकीकरण परियोजनाले विभिन्न जिल्लाहरूमा पोखरी विस्तारका लागि अनुदानका साथै यान्त्रिकीकरण, व्यवसायीकरणमा विभिन्न प्रकारको सहयोग दिन थालेपछि माछाको क्षेत्रफलमा व्यापक मात्रामा वृद्धि भएको छ ।
माछाको क्षेत्रफल विस्तार सँगै अहिले माछाको उत्पादनमा पनि वृद्धि भएको छ । मधेश प्रदेशका जिल्लाहरूमा १५ हजार ५ सय ७४ हेक्टर क्षेत्रफलमा माछा खेती हुन थालेका छन् । यसबाट माछाको उत्पादन तीन गुणाले वृद्धि भएको प्रधानमन्त्री कृषि आधुनिकीकरण परियोजना, परियोजना समन्वय इकाई जनकपुरधामका प्रमुख वरिष्ठ कृषि विकास अधिकृत युगल किशोर तिवारीले जानकारी दिनु भयो ।
अहिले माछाको उत्पादन बढेपछि तराई मधेसका जिल्ला सहित ठूला बजारमा आधुनिक बजारीकरण मार्फत माछाको बिक्री वितरण हुन थालेका छन् । मत्स्य व्यवसायीहरूले माछालाई जिउँदो राखेर बजारमा बिक्री वितरण गर्न थालेका छन् । माछाको उत्पादन बढेपछि अहिले माछाको मूल्यमा पनि कमी आएको छ । खास गरेर माछाको निकासीको व्यवस्था मिलाएको खण्डमा यसले किसानलाई बढी मुनाफा दिने भएकाले त्यस तर्फ राज्यले ध्यान दिनु पर्ने नेपालका वरिष्ठ एवं धनुषाका सफल मत्स्य व्यवसायी वौएलाल मुखियाले जानकारी दिनु भयो ।
अहिले स्थानीय बजारहरूमा राम्रो साइजको माछा किलोको दुई सय देखि साढे तीन सयमा बिक्री भइरहेको छ । खास गरेर निक्कै महगो जातको रोहू, भाकुर, नैनी, विघट जातको माछाको मूल्य तीन सय देखि साढे तीन सयमा प्रति किलोग्राम बिक्री वितरण हुने गरेको छ । पहिला यसको मूल्य साढे तीन देखि साढे चारसम्म बिक्री हुने गरेका थिए । माछाको उत्पादन बढेपछि यसको प्रत्यक्ष लाभ आम उपभोक्ताहरूले पाइरहेका छन् ।
प्रतिक्रिया लेख्नुहोस्