जनकपुरधाम । प्रहरी समायोजनको माग गर्दै मधेश प्रदेश सरकारले आजदेखि जनकपुरधामको प्रदेश प्रमुखको कार्यालयमा धर्ना सुरु गरेको छ ।
मधेश प्रदेश सरकारका मुख्यमन्त्री लालबाबु राउत मन्त्रिपरिषद्को अन्य सदस्यहरूसहित धर्नामा बस्नुभएको हो ।
पूर्व निर्धारित आन्दोलनको कार्यसूची अनुसार प्रदेश प्रमुखको कार्यालयको प्राङ्गणमा मञ्च तथा पण्डालको निर्माण गरेर मन्त्रीहरू धर्नामा बस्नुभएको छ ।
प्रदेश सरकारले पहिलो चरण अन्तर्गत सात दिनसम्म धर्नामा धर्ना बस्ने कार्यक्रम रहेको गृह तथा सञ्चार मन्त्री भरतप्रसाद साहले जानकारी दिनुभयो ।
यसैबीच पत्रकारहरूसँग कुरा गर्दै मधेश प्रदेशका मुख्यमन्त्री राउतले संविधान तथा सङ्घीयताको सफल कार्यान्वयनका लागि प्रहरी समायोजन अपरिहार्य रहेको बताउँदै त्यसका लागि नै आफूहरू आन्दोलनमा उत्रेको बताउनुभयो ।
उहाँले संघ सरकारले प्रहरी प्रशासनसहित विभिन्न अधिकारहरू प्रदेश मातहत नदिएसम्म संविधान तथा सङ्घीयताको सफल कार्यान्वयन हुन नसक्ने बताउँदै आफूहरूको आन्दोलन संवैधानिक अधिकारका लागि भएको बताउनुभयो ।
मुख्यमन्त्री राउतले प्रहरी समायोजन सम्बन्धी ऐन तथा कानून निर्माण भइसकेको बताउँदै सरकारले चाहेको खण्डमा एक सातामा नै कार्यान्वयन हुने पनि बताउनुभयो ।
धर्ना कार्यक्रममा मुख्यमन्त्री राउतसहित भौतिक पूर्वाधार विकास मन्त्री रामसरोज यादव, गृह तथा सञ्चार मन्त्री भरत प्रसाद साह, ऊर्जा तथा खानेपानी मन्त्री ओमप्रकाश शर्मा, कानून, न्याय तथा प्रदेशसभा मन्त्री प्रमोद यादव, गृह तथा सञ्चार राज्यमन्त्री रुवी कुमारी कर्ण, प्रदेश सभाका सदस्यहरु शैलेन्द्र यादव, सरस्वती चौधरी, प्रमिला देवी दास, चमेली दास सहितका प्रदेश सभाका सदस्यहरु पनि धर्नामा बस्नुभएको छ ।
यसअघि मधेश सरकारका मुख्यमन्त्री तथा मन्त्रीहरूले प्रधानमन्त्री देउवासहित सत्ता गठबन्धन दलका प्रमुख नेताहरूलाई साउन ६ गते ज्ञापनपत्र बुझाउनुभएको थियो भने साउन २२ गते प्रदेश सरकारका गृहमन्त्रीको नेतृत्वमा प्रदेश प्रमुख हरिशंकर मिश्रमार्फत प्रधानमन्त्रीलाई ध्यानाकर्षण पत्र बुझाउनुभएको थियो ।
प्रतिक्रिया लेख्नुहोस्