माधुरी महत्तो
वीरगन्ज , २२ साउन : पर्सावासीका लागि ७ वर्ष देखि प्रतिक्षाको विषय बनेको तिलावे नदिको पुल बल्ल बनेको छ । जिल्लाको ग्रामीण भेगलाइ सदरमुकाम वीरगन्जसंग जोड्ने एक मात्र सडकमा रहेको तिलावे नदि माथिको पुल ठेक्का लागेको ७ वर्ष पछि अहिले आएर बल्ल निर्माण सम्पन्न भएको हो ।
नवनिर्मित पुलको उद्घाटन यहि साउन २५ गते बुधबारका दिन संघीय सरकारका भौतिक पुर्वाधार तथा यातायातमन्त्री महम्मद इस्तियाक राइले गर्ने कार्यक्रम रहेको पप्पु कन्ट्रक्सनका अध्यक्ष सुमीत रौनीयारले जानकारी गराएका छन् ।
२०७२ जेठ २५ मा पप्पु/लुम्बिनी जेभीले ७ करोड ७१ लाख रुपैयाँमा ३ वर्षमै बनाउने गरी तिलावे खोला पुलको निर्माण कार्यको ठेक्का सकारेको थियो ।हुलाकी राजमार्ग निर्देशनालय योजना कार्यालय वीरगन्जका अनुसार , सम्झौता अनुसार पुल २०७५ जेठ २४ भित्रै ठेकेदारले निर्माण सम्पन्न गर्नुपर्ने थियो ।तर ठेक्का लागेको ७ वर्ष बिति सक्दा पनि विभिन्न कारण देखाउदै ठेकेदार कम्पनिले पटक पटक म्याद थप गराउदै आएको थियो ।
यसअघि अलपत्र परेको पुलको निर्माण कार्य , स्थानीय युवाहरुले पुल निर्माणस्थलमै १ महिना सम्म प्रदर्शन सहितको दबाब दिए पछि गत मंसिरबाट निर्माण कार्य सुचारु भएको थियो ।त्यस बेला ( गत मंसिर २९ गते ) जिल्ला प्रशासन कार्यालय पर्सामा बसेको ठेकेदार सहितको सर्वपक्षिय बैठकले ७ महिना देखि अलपत्र छाडिएको तिलावे पुलको निर्माण कार्य मंसिर १ गते देखि सुचारु गर्ने सहमति गरेको थियो । त्यहि सहमति अननुसार पुन काम सुचारु भएर अहिले तिलावे पुलको निर्माण सकिएको हो ।
निर्माणको ठेक्का सम्झौता २०७३ सालमा भएपनि प्रक्रियागत, प्राविधक र आर्थिक समस्याका कारण पुल निर्माणमा तोकिएभन्दा बढी समय लाग्न पुगेको पप्पु कन्ट्रक्सनका अध्यक्ष सुमीत रौनीयारले बताए । उनले ठेक्का लागेको १८ महिना पछि मात्रै पुलको नक्सा दिएकोले पनि निमर्माणमा समय लागेको बताए ।
पुलको निर्माण कार्य सकिएर उद्घाटनको तयारी भइरहदा पर्सा क्षेत्र नम्बर ३ का सांसद हरिनारायण रौनीयारले नवनिर्मित पुलको स्थलगत अवलोकन गरेका छन् । त्यस क्रममा रौनीयारले पुल निर्माण भइ अब सन्चालनमा आएपछि जिल्लावासीको आवागमनमा निक्कै सहजता हुने बताए । उनले तराइ मधेसकै लाइफलाइनका रुपमा रहेको हुलाकी सडकमा निर्मित यो पुलले जिल्लाको आर्थिक विकासमा पनि टेवा पुग्ने बताए ।
तिलावे नदिको पुरानो फलामे पुुल जीर्ण भइसकेको र साँघुरा पनि भएका कारण त्यहा हरेक दिन बिहान र साँझ घण्टौ सम्म ट्राफिक जाम लाग्ने गरेको छ ।
The post तिलावे नदिको पक्की पुल बन्यो , बुधबार उद्घाटन appeared first on Madhes Khabar.
प्रतिक्रिया लेख्नुहोस्